सोमवार, 7 सितंबर 2015

रफिफ रेजिस्टेन्स

निबन्ध
विश्व-कविता : प्यालेस्टाइन


बलात्कृत हुने हकविरूद्ध इमानदार प्रतिरोध


लेखनाथ छेत्री
प्यालेस्टाइनी विद्यार्थीहरूले प्रतिवाद गरिरहेको इज्राइली सैनिकलाई पचेन। तर टोरण्टोको योर्क युनिभर्सिटीमा प्यालेस्टाइनी विद्यार्थीहरूले प्रतिवादी कार्यक्रम जारी राख्यो। स्थिति तनाउपूर्ण थियो। वरिपरि सेनाका जवानहरू। अनेकौँ विद्यार्थीहरूको भीड़मा तिनी पनि थिइन्‌। तिनलाई एक सैनिकले सन्दिग्ध पाराले हेर्‍यो। त्यसपछि त्यसले गह्रौँ बुट लगाएको खुट्टा उज्यायो अनि निर्ममतापूर्वक तिनको पानीपेटमा कस्सेर हान्यो र भन्यो,-
‘आतङ्कवादी नानी जन्माउनअघि तँ बलात्कृत हुने तेरो हक छ।’
प्यालेस्टाइनको निम्ति सबैभन्दा क्रुर वाक्य यही थियो।
तिनले त्यतिबेलै त केही भनिनन्‌। पछि इज्रायली सैनिकको त्यो बर्बरताको जवाबमा एउटा कविता लेखिन्‌। जहॉंजहॉं तिनी त्यो कविता सुनाउँछिन्‌, सुनाउनअघि इज्रायली सैनिकको त्यो बर्बरता सम्झिन्छिन्‌। वास्तवमा पीड़ाले मानिसलाई कवि बनाउँदो हो। पीड़ाको स्वरूप फरक होला, एक प्यालेस्टाइनी पीड़ितको निम्ति यही पीड़ा शक्ति बन्यो। क्रुरताविरुद्ध बोलिएको तिनको त्यो जवाबी कविता हो,- ‘रिसका छायाहरू’ (शेड्स अफ्‌ एङ्‌गर)।
विश्वमा सर्वाधिक मन पराइएको यो कविता शायद इज्राएली सैनिकको यो बुटको विरुद्ध होइन, सत्ता र शक्तिले मातिएका संसारभरिका ब्वॉंसाहरूको विरुद्ध  हो। यो शक्तिशाली कविताबाट प्रतिवादी कवित्व बॉंच्दै आइरहेकी कवि हुन्‌ रफिफ जियादह।

प्यालेस्टाइनमाथि इज्रायली अतिक्रमणविरूद्ध लड़िरहेकी शरणार्थी कवि जियादह अहिले लण्डनमा शरण लिएर सक्रिय छिन्‌। योर्क युनिभर्सिटी टोरण्टोकी विद्यार्थी बेलामा नै जियादहले लेखेको अर्को कविता हामी जीवन सिकाउँछौँँ, सर पनि खुबै लोकप्रिय कविता हो। प्रतिवाद जनाउने हतियार कसरी कविता पनि हुनसक्छ, त्यो जियादहको कवित्वले प्रमाणित गर्दछ।

...

रिसका छायाहरू। यही कविता रफिफसितको मेरो पहिलो भर्चुवल भेटको कारण थियो। रफिफलाई एकपछि अर्को गर्दै युट्युबमा सुन्दै जॉंदा लाग्यो, देखिदिननुपर्नेहरूले इज्रायल र प्यालेस्टाइनबीचको हिंस्रक, बर्बर र कोल्टे राजनीतिलाई नदेखिदिएको असह्य पीड़ा बोकेर हिँड़िबस्छिन्‌ रफिफ।
उनका कविताहरूले भन्छ, मानसिक यातना खतरनाक हुन्छ। त्यसबाट मुक्ति संवादले मात्र सम्भव छ। यसकारण जियादह कवितामा संवाद गर्दै हिँड्‌छन्‌। आफूहरूको पीड़ा र यातनाहरू जहॉं जहॉं अनदेखा गरिन्छन्‌, त्यहॉं त्यहॉं रफिफको कविता पुग्छ। अनदेखाहरूको छायामा दर्दनाक जीवन बिताइरहेका प्यालेस्टाइनीहरूबाट निस्कने अथवा निस्कनुपर्ने आक्रोशको कलात्मक रूप छ रफिफका कविताहरूमा। इज्रायली बन्दुकको नोकले जतातिर आँखा झिम नगरी हेर्छ, त्यतै पर्छ रफिफको खास गाउँ। त्यहॉं लगभग प्रत्येक दिन गाउँ जल्छ, मान्छे मारिन्छन्‌ अथवा जे पनि हुन्छ, धेरैले थाहा नपाई धेरै कुरो हुन्छ। मिडिया या त ती घटनाहरूलाई कोल्याट्टरल ड्यामेज भनेर पन्छाउन खोज्छ या त बजारको लागि एक भावुक र मानवीय कथाको खोजी गर्न आउँछन्‌। मिडिया चाहन्छ कि आफ्नो बाबा-आमा अथवा छोरा-छोरीको हत्या भएको दर्दनाक दृश्य, आफ्नो घर हुर्हुर्ती आगोले खाइरहेको कथा प्यालिस्टाइनीहरू आँखामा आँशु राखेर रूँदै क्यामेराअघि उभिएर भनुन्‌। अचम्म लाग्ने कुरा त के हो भने आफ्नो सर्वस्व गुमेको कथा भन्न पनि उनीहरूलाई रात-रातभर अङ्ग्रेजी सिकाइन्छ। ती तमाम कथाहरूभन्दा ज्यादा जब रफिफहरू अकुपेशन, अपार्थाइड, शोषक र शोषण जस्ता शब्द प्रयोग गरेर एक कुरूप राजनीति आम मानिसलाई बुुझाउन थाल्छन्‌, उनीहरूलाई आफ्ना मुखमा ताला ठोक्न बाध्य गराइन्छ। उनीहरूलाई नबोल्न आदेश दिइन्छ अनि त्यही आदेशमुनि अझ झरिलो भएर फुल्छ उन्मुक्तिको कलिलो सपनाको जङ्‌गली फूल।
विषयको संवेदनशीलता बुझ्ने पिङ्क फ्लोयड, म्याक्सिमम्‌ अट्याक, फेथलेस जस्ता चर्चित साङ्‌गीतिक ब्याण्ड अनि एलिस वाकर, जुडिथ बट्लरहरूजस्ता बौद्धिक जमातलाई गाजामा ‘कल्चरल बाइकट’-द्वारा प्रतिबन्ध लगाइनुमा एउटै किसिमको कुटनीति हाबी छ।
नबोल्न बाध्य गराइनुको पछिल्तिर कस्तो कारण लुकेको छ त?
रफिफलाई लाग्छ, उनीहरू चाहन्छन्‌, उनीहरू बाहेक कसैले थाहा नपाउन्‌ कि प्यालिस्टाइनीहरू आतङ्‌ककारी छोरा-छोरी जन्माउँदैनन्‌। कि उनीहरू आफ्ना छोरा-छोरीलाई हिंसा सिकाउँदैनन्‌। घृणा सिकाउँदैनन्‌। बरू सिकाउँछन्‌ जीवनको गीत। बस उनीहरू चाहन्छन्‌ कि पुनर्वासमा मर्ने दिन पर्खेर बसेका बूढ़ाबूढ़ीहरूले याफत र हैफाबीच आफ्नो घरमा रातो घामतिर हेरेर धैर्यसित प्रार्थना बर्बराउन्‌। बस्‌ चाहन्छन्‌ कि उनीहरूको आकाशबाट बारूदको धुवॉं हटोस्‌ अनि आकाशको नीलोमा युद्धद्वारा विस्थापित केटाकेटीका रङ्‌गीन गुड्‌डी पुनः उनीहरूको निम्ति जीवनमय यथार्थ भएर उड़ोस्‌।

...

गाजामा रफिफको बाल्यकाल आर्टीलेरी शेलको धुवॉंबीच रूमल्लिएर बित्यो। जब हुर्केर केही-केही बुझ्ने लायक बनिन्‌, उनलाई लण्डनको पुनर्वास क्याम्पमा लगियो। सानोमा देखेर पनि देख्न नपाएको आफ्नो देश हेर्ने, आफ्नो माटो स्पर्श गर्ने, आफ्नै ठाउँबाट उदाउने घामको रङले नुहाउने, सबभन्दा धेर आफ्नो संस्कृति बुझ्ने सपना जिउँदो छ रफिफभित्र। तिनीसित बज्रस्वॉंठ सपना छ, जो दिनोदिन हुर्किँदै गइरहेको छ। यस्तो सपना छ र नै छिन्‌ रफिफ जियादाह पनि। गाजाबाट विस्थापित भइसकेर लण्डन बस्नथालेपछि पनि रफिफलाई एउटा प्रश्नले सताउन कहिले छोड़ेन। आखिर उनीहरूमाथि नै किन भइरहेको छ यी सब?
रफिफको चेतना हल्लाउने यो प्रश्न वास्तवमा प्रत्येक प्यालिस्टाइनी शरणार्थीको मौलिक प्रश्न हो। मस्तिष्कमा यही प्रश्न अनि मनमा अघिल्लो पुस्ताले भोगेकै सन्त्रास उमारेर आज एक नयॉं प्यालेस्टाइनी पुस्ता रफिफ पछि-पछि हुर्किरहेको छ। पुनर्वासको यो नयॉं पुस्तासम्म आइपुग्दा आज निर्वासित प्यालेस्टाइनीहरू तर आफ्नो मातृमाटोको लागि प्रार्थना गर्न बिर्सिए-बिर्सिए जस्ता लाग्छन्‌। उनीहरूले बिर्सिएजस्ता लाग्छन्‌ घर फर्किने सपना देख्न। उनीहरूले मानौँ बिर्सिएका छन्‌ कि उनीहरूसित जे भइरहेको छ, त्यो ठीक भइरहेको छैन। मानौँँ उनीहरू सब कुरासँग सम्झौता गरिरहेका छन्‌। यसरी इज्रायली अनि तथाकथित पश्चिमा कुटनीतिविरूद्ध यिनीहरूको कुनै आक्रोश नहुनुको चिन्ता रफिफको लेखन एंव एक्टिभिजम दुवैमा छ।
यता हाम्रोतिर कवि भूपेन्द्र सुब्बा, टीका भाइ, राजा पुनियानी, मनोज बोगटीहरू अनेक राजनैतिक-सामाजिक विसङ्‌गतिबीच जेल्लिएर बॉंचिरहेका आम मान्छेको मौनतासँग चिन्तित छन्‌। यही चुप्पी तोड़्‌न कवितालाई एक अभियानको रूपमा आजका कवि स्वीकार गर्छन्‌। यो देख्दा कविता एक सामाजिक परिवर्तनको संवाहक बन्नसक्ने रफिफको विश्वास जायज लाग्छ। व्यावहारिक लाग्छ।
वास्तवमा रफिफ जियादाह युनिभर्सिटीमा पढ़िने पाठ्यक्रम होइन। प्रत्येक दिन इण्टरनेटमा टिनेजरहरूले खोज्ने बाजारू माल पनि होइन। केही हो त प्यालेस्टाइनको कन्फ्लिक्ट जोन-बाट उड़ेको धुलो हो। बमको चोइटाले भेटेर छट्पटिरहेका असङ्ख्य मान्छे अनि केटाकेटीको क्रन्दन, भत्किएको घरबाट निस्किएको विरक्त सासबीच मान्छे भएर बॉंच्ने एक चाहना हो रफिफ जियादाह। रफिफलाई यसैकारण लाग्छ कि यस समय बॉंच्नुको एक तीव्र, इमानदार आकांक्षा राख्नु मात्रै पनि उनीहरूको आकाशमा उड़ेर बम बर्साइरहेका इज्रायली सैनिकको बर्बरताविरूद्ध एक बलियो प्रतिवाद हो। इज्रायली बमवर्षक एफ सिक्स्टिन विमानहरूबीच गुड्‌डी उड़ाउने एक बालक हदीलको निर्मम हत्या भयो। उसको सुनसान मृत्युको कुनैै समाचार बनिएन। उसको हत्या एक रहस्य भएर रह्यो। यही मार्मिक घटनाबाट ओतप्रोत भएर लेखिएको कविताको अंश रफिफको कवितीय शक्ति चिनाउन पर्याप्त लाग्छ 
हदीलको लागि इमानदार मौनताको एक पल देऔँ
होइन, इमानदार प्रतिरोधको एक पल देऔँँ
हदीलको निम्ति हामीले उबारेको
अलिकति गौरव थाम्नलाई ...


(https://www.youtube.com/watch?v=sLUirMONjm0)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें