रविवार, 6 सितंबर 2015

हस्तक्षेप आन्दोलनको घोषणा

प्रज्ज्वल छेत्री
 कालेबुङ, 6 सितम्बर। 
‘आम जनताका दिमागी व्यवस्थामा सत्ताले नियोजित अनि प्रायोजित रूपमा हस्तक्षेप गरेको छ’-हस्तक्षेपी कवि राजा पुनियानीले भने, ‘हामी त्यही दिमागी व्यवस्थामा भइरहेकोे हस्तक्षेपमाथि प्रतिहस्तक्षेप गर्नेछौँ।’ केही समययता चर्चामा रहेको ‘हस्तक्षेप’ आन्दोलनलाई आज कालेबुङबाट औपचारिक रूपमा घोषणा गरिएको छ। तेस्रो आयाम, लीला लेखन, सङ्‌क्रमण लेखन, विचलन, हुँदै किनाकिकरणसम्म आइपुगेको भारतेली नेपाली साहित्यमा ‘हस्तक्षेप’-नामक अर्को नयॉं आन्दोलनको थालनी गरिएको छ। कालेबुङमा आयोजित एक कार्यक्रममाझ आन्दोलनको घोषणासितै मुखपत्र ‘हस्तक्षेप’-को पनि विमोचन गरिएको हो। कवि राजा पुनियानी, मनोज बोेगटी, टीका भाइ, भूपेन्द्र सुब्बा, लेखनाथ छेत्री, निमा शेर्पा, नेपालका महेश पौड्याल, भूपिन र ईश्वर कँड़ेेलहरू हस्तक्षेपी समुहमा पर्दछन्‌। ‘हामी हस्तक्षेपमा प्रतिबद्ध लेखनको वकालत गर्छौँ’-हस्तक्षेपी अवधारणाबारे बुझाउँदै पुनियानीले भने, ‘लेखक आफूले जे लेख्दैछ त्यसप्रति प्रतिबद्ध हुनु जरूरी छ।’ उनलार्ई लाग्छ हस्तक्षेप आन्दोलनले राजनैतिक विचारको उपस्थितिलाई जोड़ दिनेछ। कवि पुनियानीले हस्तक्षेप आन्दोलनलाई विचार र कलाको ‘प्रोपर ब्यालेन्स’ रहेको भन्दै जनतासँग सोझै साहित्यले संवाद गरोस्‌ भन्ने हस्तक्षेपीहरूको सोच रहेको बताएका छन्‌। अर्का कवि भुपेन्द्र सुब्बा कसरी व्याख्या गर्छन्‌ भने आजभन्दा पहिले भारतीय नेपाली समाज र साहित्यमाझ एउटा विशाल दुरी कायम रहेको थियो। तर अब उनीहरू शुरूदेखि वर्तमानसम्मका सामाजिक, आर्थिक, राजनैतिक उताड़चड़ाउलाई लेखनमा ल्याउन चाहन्छन्‌। ‘साहित्यिक सर्जकहरू विचारले भाषाले, बोलिले समाजबाहिरका अलग्गै कुनै एलियन प्रजाति जस्तै देखिन्थे‘-सुब्बा भन्छन्‌, ‘यसैले साहित्यमा सामाजिक संवादको स्थापना हाम्रो अभिष्ट हो।’ विचलन र किनारीकरणले यस स्थितिलाई केही हद्सम्म सम्बोधन गरेको कुरालाई हस्तक्षेपीहरू नकार्दैनन्‌। उनीहरूले अब चुपचाप बस्ने सामाजिक-साहित्यिक संस्कारविरूद्ध उभिने हस्तक्षेपको सचेत प्रचष्टा रहेको कवि सुब्बाले बताएका छन्‌। ‘सबभन्दा खतनाक हुन्छ सपनाहरू मर्नु’-हिन्दी कवि अवतारसिंह पाशको विचारसित सहमत राख्दै मानिसहरूको विचारमा भइरहेको राजनैतिक, सामाजिक, आर्थिक हस्तक्षेपमाथि प्रतिहस्तक्षेप गर्दै नेपाली साहित्यलाई नयॉं दिशा दिने किसिमको आन्दोलन हस्तक्षेपभित्र पर्ने उनीहरूको आशय छ। ‘अचेल सर्जकहरूमा धेरै द्वन्द्व चलिरहेको छ, त्यो पनि लेखनसम्बन्धमा,’ मनोज बोगटीले भने, ‘यसले लेखनको औेचित्यबारे निश्चितरूपमा बहसको वातावरण ल्याउनेछ, जोे हस्तक्षेपको निम्ति धेरै फाइदाकारी हुनेछ।’ सबै लेखनले समाजकै कुरा गरिरहेको तर हस्तक्षेपले कुन समाज भनेर तोक्ने पनि तिनले बताए। ‘सत्ता भनेको सरकार मात्र होइन, राजनीति मात्र होइन,’ तिनले भने यो वास्तवमा विचार हो। हामी चाहिँ समाजलाई काम लाग्ने विचारका वकालत गर्छौँ।’ हस्तक्षेप आन्दोलनमा रहेका कवि लेखनाथ छेत्रीले हस्तक्षेपलाई समाज सरोकारको निम्ति अघि आएको अर्ग्यानिक विचार बताए। ‘विचार त सबैले गरिरहेका छन्‌,’ तिनले भने, ‘तर हामी भने जनपक्षीय विचारसम्मत लेखनमा विश्वास गर्छौँ।’ तिनले हस्तक्षेपले लिएको विचारका समकक्षी विचारहरूलाई पनि उपयोगिताका हिसाबले ग्रहण गर्ने तर समाजलाई काम नलाग्ने विचारविरुद्ध भने हस्तक्षेप गर्ने पनि बताए। 

राजनीतिले कोपरेका कथा-1986

 ‘छुदेन काविमो समाजका मनोविज्ञानलाई समातेर कथा लेख्न सफल छन्‌’-कवि टीका भाइले दावी गर्दै भने, ‘कथासङ्‌ग्रह 1986 पढ़िएन भने भारतेली नेपाली कथा साहित्यकै एउटा उत्कृष्ट कृति पढ्‌नबाट विमुख हुनु पर्नेछ।’ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा भएको आन्दोलनाई ‘1986’-को नाम दिँदै छुदेन काविमोद्वारा लेखिएको कथासङ्‌ग्रह आज विमोचन गरियो। कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममाझ मुखपत्र हस्तक्षेपसितै समिक चक्रवर्ती अनि राजा पुनियानीले अनुवाद गरेका हस्तक्षेपी कविताहरू बङ्‌गला सङ्‌ग्रह ‘आजकेर उत्तर’ अनि छुदेन काविमोद्वारा लिखित कथा सङ्‌ग्रह 1986 सार्वजनिक गरिएको हो। कवि सानुमति राई, टीका भाई, राजा पुनियानी, समिक चक्रवर्ती, अभिनेता सालोम काबोे, छुदेन काविमो, लिलाबहादुर छेत्री लगायत साना नानीहरू आरोहण र मानवीको बाहुलीबाट सामुहिक रूपमा तीनवटै पुस्तक सार्वजनिक गरिएको थियो। ‘1986 आएर 2015 पछि मात्र लेखियो’-सङ्‌ग्रहमाथि टिप्पणी राख्दै टिका भाईले भने, ‘छुदेनले त्यसेबेला शहरले गाउँलाई गरेको अतिक्रमणलाई मिथकीय रूपमा नकारात्मक पात्रको रूपमा उभ्याइएका छन्‌। टिका भाईलाई लाग्छ, छुदेनको सबैभन्दा शक्तिशाली पक्ष भनेको लेखनको तरिकाको हो। लेखनमा फरक शैलीका कारण कथा पढ्‌दै जॉंदा पाठकलाई खुसी पार्नमा छुदेन सफल रहेको कवि टीका भाइले बताए। ‘1986 मा समय र समाजको सही व्याख्या भएको छ’-टीका भाइले भने, ‘ छुदेनका कथाहरू पढिसकेपछि भारतमा नै यसकिसिमको कथा सङ्‌ग्रह लेखिएको छ के भन्नेकुरामा सन्देह गर्न सकिन्छ।’ सङ्‌ग्रहभित्र 1986, लाइनबाहिर, बेस्ट टिचर, द लास्ट कल जस्ता 11 वटा कथाहरू समावेश छन्‌। ‘विमोचनको कार्ड बॉंड्‌न गएको थिएँ, एक नेताले कार्ड हेरेर भने, भाइ, 86को बारे कसलाई सोधेर लेखेको? मैले उत्तर दिेँ, गाउँलाई सोधेर,’ काविमोले 1986बारे भने, ‘फेरि नेताले सोधे, के भएको रहेछ गाउँलाई, उत्तरमा मैले भने, केही भएको रहेनछ र कथा लेखेँ।’ आजको कार्यक्रममा सरिता समदर्शी, भीमा राई तोलाछा, लेखनाथ छेत्री आदिले कविता वाचन गरेका थिए भने विनोद प्रधानको एकल नाटकले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। सुमन तोलङ्गीद्वारा प्रस्तुत गरिेएको क्रान्तिकारी गीतबाट आरम्भ भएको कार्यक्रमलाई कवि मनोज बोगटीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अन्तमा अमीर सुन्दासको जनसङ्‌गीत प्रस्तुति रोचक थियो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें